राज्य संकटमा रहेको भन्दै दलहरूलाई एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले राज्य संकटमा रहेको र जनतामा निराशा बढ्दै गएको भन्दै सबै राजनीतिक दललाई एकजुट भएर राष्ट्रिय मुद्दामा सहकार्य गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सभामुखमार्फत सरकारलाई संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याएर राष्ट्रिय मुद्दा तय गर्दै अघि बढ्न आग्रह गरे। उनले सबै दल मिलेर अघि बढे मात्रै राज्य र लोकतन्त्र जोगाउन सकिने बताए। राज्य र जनता रहे मात्रै राजनीति गर्न सकिने उल्लेख गर्दै उनले जनतामा थप निराशा फैलाउने गतिविधि नगर्न आग्रह गरे।
‘देशमा बाँच्न सकिँदैन, केही गर्न सकिँदैन’ भन्ने भाष्य संसद्बाट निर्माण गर्न नहुने भन्दै सिंहले संसद्मा रहेका दलहरूलाई आपसी आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय समस्याको समाधानतर्फ केन्द्रित हुन आग्रह गरे।
उनले राज्य र लोकतन्त्र कमजोर भए कुनै पनि राजनीतिक शक्ति सुरक्षित नरहने टिप्पणी गरे। साथै, यसै साता आत्मदाह प्रयासका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिकको निराशा कम गर्ने दिशामा राज्यले काम गर्नुपर्ने बताए।







