सडकमा जथाभावी गाडी तेर्स्याउने कार्यलाई राज्यले संरक्षण गरेको सुमना श्रेष्ठको आरोप

User Image Prime TV News १ हप्ता अगाडि
Image of सडकमा जथाभावी गाडी तेर्स्याउने कार्यलाई राज्यले संरक्षण गरेको सुमना श्रेष्ठको आरोप

काठमाडौ । पूर्वमन्त्री तथा पूर्वसांसद सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर सर्वसाधारणलाई अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको आरोप लगाएकी छन्।

उनले यस्तो प्रवृत्तिलाई ‘आसेपासे पोस्ने (क्रोनिजम)’ संस्कृतिको उदाहरण भन्दै नेतृत्व तहको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। सोमबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले हालै काठमाडौंमा देखिएको जथाभावी पार्किङ र त्यसमार्फत सन्देश दिने शैलीले राज्य र नागरिकबीचको विश्वास कमजोर बनाइरहेको बताइन्।

उनले ‘पाठ सिकाउने’ नाममा फरक मत राख्नेहरूलाई धम्क्याउने र दबाब दिने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि प्रश्न उठाएको उल्लेख गरिन्। श्रेष्ठले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफू शक्तिमा रहुञ्जेल जे पनि गर्न सकिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताइन्। दीर्घकालीन समृद्धिका लागि विधिको शासन, जवाफदेहिता र नागरिकप्रति सम्मान आवश्यक रहेको उनको भनाइ छ।

उनले प्रहरीलाई दोष दिनेभन्दा उनीहरूलाई काम गर्नुपर्ने परिस्थितिलाई बुझ्नुपर्ने धारणा राख्दै शान्ति सुरक्षा अर्थतन्त्रको आधार भएको उल्लेख गरिन्। सुरक्षाकर्मी र सर्वसाधारणबीच अविश्वास बढ्नु कसैको हितमा नभएको उनको भनाइ छ।

श्रेष्ठले जनप्रतिनिधिहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै राज्य र नागरिकबीचको दूरी घटाउने जिम्मेवारी निर्वाह गर्न सांसदहरू असफल भएको टिप्पणी गरिन्। साथै, सुरक्षाकर्मीको मानसिक स्वास्थ्य, आवश्यक स्रोतसाधन र गुनासो सम्बोधनका विषयमा पर्याप्त ध्यान नदिइएको उनको आरोप छ।