मिटरब्याज पीडितसँग निजगढमा सरकारको संवाद
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पैदल न्याय मार्च’ अन्तर्गत जनकपुरधामबाट काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग सरकारी प्रतिनिधिले बाराको निजगढमा भेटवार्ता गरेका छन्।
सरकारी टोली आउने जानकारी पाएपछि पीडितहरू बिहानैदेखि निजगढमा रोकिएका थिए। उद्योग वाणिज्य संघ निजगढको सभाहलमा भएको छलफलमा पीडितहरूले आफ्ना माग तथा समस्याबारे ध्यानाकर्षण गराएका छन्।
छलफलका क्रममा मिटरब्याजबाट प्रभावित परिवारलाई न्याय दिलाउने, कानुनी प्रक्रियालाई प्रभावकारी बनाउने तथा पीडितका समस्या समाधानका विषयमा कुराकानी भएको जनाइएको छ। मिटरब्याज पीडित संघर्ष समितिका प्रतिनिधिहरूले सरकारसँग भएका सहमति कार्यान्वयन गर्न र दोषीमाथि प्रभावकारी कारबाही गर्न माग गरेका छन्।
सरकारका तर्फबाट पीडितका जायज माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ। पीडितहरूको ‘पैदल न्याय मार्च’ काठमाडौं पुगेर सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।







