हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, परीक्षण उत्पादनका लागि काम सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, परीक्षण उत्पादनका लागि काम सुरु

काठमाडौ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ।

सरकारले दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्ने लक्ष्यसहित परीक्षण उत्पादनका लागि आवश्यक काम सुरु गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग तत्काल परीक्षण उत्पादनमा लैजाने तथा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्ययोजनासहितको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि हालसम्म भएका काम, प्राप्त प्रगति र आगामी रणनीतिबारे विस्तृत खाका प्रस्तुत गरेको छ।

यसैबीच, नेपाली सेनाले अर्थ मन्त्रालयबाट विनियोजित बजेटअनुसार उद्योगभित्र रहेका मेसिनहरूको मर्मत कार्य सुरु गरिसकेको छ। परीक्षण उत्पादनको तयारीलाई तीव्र बनाउने उद्देश्यले मर्मत तथा प्राविधिक व्यवस्थापनको काम अघि बढाइएको जनाइएको छ।

सरकारले परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी स्वदेशमै कपडा उत्पादन बढाउने लक्ष्य लिएको जनाएको छ।