देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of देशभर मनसुनी प्रभाव कायम,      केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रही नेपालको तराई क्षेत्रनजिक अवस्थित छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेशका विभिन्न स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थान, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।