माजिद अन्सारीमाथि कुटपिटको आरोपबारे राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ।
आयोगका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार जेनजी मुभमेन्ट अलायन्सले सोमबार आयोगमा उजुरी दर्ता गराएको हो। उजुरीमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गत शनिबार भएको घटनामा संलग्न प्रहरी टोली तथा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट समन्वय गरी पठाइएको प्रतिनिधि बताइएका ओजस्वी थापाविरुद्ध छानबिनको माग गरिएको छ।
उजुरीमा अन्सारीमाथि भएको व्यवहारले संविधानले सुनिश्चित गरेका मौलिक हक तथा मानवअधिकारको उल्लंघन भएको दाबी गरिएको छ। विचार तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि असर परेको उल्लेख गरिएको छ।
जेनजी मुभमेन्ट अलायन्सले घटनासँग सम्बन्धित भिडियो सामग्री र अन्सारीको अस्पताल रिपोर्टसमेत प्रमाणका रूपमा आयोगमा बुझाएको जनाएको छ। अन्सारीलाई कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा अनुगमनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको र त्यस क्रममा कुटपिट भएको आरोप लगाइएको छ। अन्सारी हाल घाइते अवस्थामा उपचाररत छन्।
घटनाबारे नेपाल प्रहरी र गृह मन्त्रालयको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। राष्ट्रिय मानवअधिकार आयोगले उजुरीमाथि अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।







