साझाले परम्परागत हरियो बसको रंग परिवर्तन नगर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of साझाले परम्परागत हरियो बसको रंग परिवर्तन नगर्ने

काठमाडौ । साझा यातायात प्रा.लि.ले आफ्ना परम्परागत हरियो बसको रंग परिवर्तन नगर्ने निर्णय गर्दै सरकारले अघि सारेको ‘ब्लु बस’ कार्यक्रम भने विशेष संकेतमार्फत सञ्चालन गर्ने तयारी गरेको छ।

साझा यातायातका प्रबन्ध निर्देशक भूपेन्द्र आर्यालका अनुसार कम्पनीले ६४ वर्षदेखि कायम रहेको हरियो बसको ब्रान्ड पहिचान परिवर्तन गर्ने योजना बनाएको छैन। उनले सरकार परिवर्तनसँगै सार्वजनिक सेवाको रंगसमेत परिवर्तन गर्ने अभ्यास उचित नहुने धारणा व्यक्त गरे।

उनका अनुसार महिलाका लागि निःशुल्क सेवा उपलब्ध गराउने ‘ब्लु बस’ कार्यक्रम अन्तर्गत हरियो बसमै नीलो रंगको स्टिकर वा ‘ब्लु बस’ भन्ने संकेत राखेर सेवा सञ्चालन गरिनेछ। यस कार्यक्रमका लागि पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभाग र साझा यातायातबीच सञ्चालन तथा व्यवस्थापनसम्बन्धी समझदारीपत्र (एमओयू) अन्तिम चरणमा रहेको बताइएको छ।

प्रारम्भिक रूपमा साझाका विद्युतीय बस प्रयोग गरी पाइलट परियोजना सञ्चालन गर्ने योजना छ। सुरुमा आठ बस सञ्चालन गर्ने प्रस्ताव भए पनि हाल पहिलो चरणमा छ वटा बसबाट सेवा सुरु हुन सक्ने जनाइएको छ। साझाका अनुसार एउटा विद्युतीय बस सञ्चालन गर्न दैनिक करिब १० देखि १२ हजार रुपैयाँ खर्च लाग्छ।

आठवटा बस सञ्चालनका लागि वार्षिक करिब ३ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने प्रस्ताव सरकारसमक्ष पेश गरिएको छ। कम्पनीले विद्युतीय बस सञ्चालन पेट्रोलियम इन्धनमा चल्ने बसको तुलनामा करिब ३० प्रतिशतसम्म किफायती हुने दाबी गरेको छ।