बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । थाइल्यान्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा रहेको एक लोकप्रिय पबमा भएको भीषण आगलागीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले घटनास्थलबाटै टेलिभिजनमार्फत जानकारी दिँदै २७ जनाको शव फेला परेको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए।
उनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बिजुली बन्द हुनुअघि मञ्चनजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए। त्यसलगत्तै ठूलो विस्फोट भएको र केही क्षणमै पब धुवाँले भरिएको उनले बताएका छन्।
प्रधानमन्त्री चानभिराकुलका अनुसार अधिकांश मृतक पबको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेका छन्। उद्धारकर्मीहरूले सार्वजनिक गरेको भिडियोमा बैंककको उत्तरी क्षेत्रमा रहेको ‘ना लाडप्राओ’ पबबाट आगोको ठूलो लप्का र बाक्लो कालो धुवाँ निस्किएको देखिन्छ। आगलागीपछि मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेका थिए।
उद्धारकर्मीका अनुसार आगलागीको सूचना मध्यराततिर प्राप्त भएको थियो। आगो नियन्त्रणमा लिन करिब आधा घण्टा लागेको थियो।
घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा पबभित्रका मेच, कुर्सी तथा अन्य संरचना पूर्ण रूपमा जलेको देखिएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।







