देशभर मनसुनी प्रभाव, धेरै स्थानमा वर्षाको सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of देशभर मनसुनी प्रभाव, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही माथि रही नेपालको तराई क्षेत्रनजिक अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर अधिकांश स्थानमा बादल लागेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेशका विभिन्न स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।