दसैँसम्म बालेन नेतृत्वको सरकार टिक्दैन : दुर्गा प्रसाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of दसैँसम्म बालेन नेतृत्वको सरकार टिक्दैन : दुर्गा प्रसाई

काठमाडौ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह नेतृत्वको वर्तमान व्यवस्थापन दसैँसम्म नटिक्ने दाबी गरेका छन्।

झापाबाट काठमाडौं आएका प्रसाईलाई निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन सक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि घरमै पुर्‍याएको थियो। त्यसपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन्।

प्रसाईले वर्तमान नेतृत्व आफू आएको राजनीतिक बाटोबाटै बाहिरिने दाबी गर्दै दसैँसम्मको अवस्था हेर्न आग्रह गरे। उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै विगतका गतिविधिकै परिणाम अहिले देखिन थालेको आरोप लगाए।

आफूमाथि सरकारले अनावश्यक निगरानी र धरपकड गरिरहेको आरोप लगाउँदै प्रसाईले आफूलाई विभिन्न घटनासँग जोडेर फसाउने प्रयास सफल नहुने बताए। उनले गणेश नेपालीको आत्मदाहलगायतका घटनामा आफूलाई जोड्ने प्रयासको पनि खण्डन गरे।

प्रसाईले वर्तमान व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको आरोप लगाउँदै सामाजिक सञ्जाल र सूचना प्रवाहमाथि नियन्त्रणको प्रयास भइरहेको दाबी गरे। उनले आफ्नो अभियानलाई आगामी दिनमा थप समर्थन प्राप्त हुने विश्वाससमेत व्यक्त गरे।

साथै, वर्तमान व्यवस्थाका कारण नागरिक निराश बन्न बाध्य भएको आरोप लगाउँदै राज्यले नागरिकलाई सम्मानपूर्वक जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे।