खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टर निरीक्षण गर्न मन्त्रीको लर्को
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भक्तपुरको खरिपाटीस्थित सुकुम्बासी होल्डिङ सेन्टरको अवस्था बुझ्न सरकारका पाँच मन्त्री पुगेका छन्।
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरिपाटी स्थानान्तरण गरिएको थियो। खरिपाटी पुगेका मन्त्रीहरूमा गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादव तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी रहेका छन्।
मन्त्रीहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था, बसोबासको व्यवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका छन्। सरकारले बागमती नदी किनारलगायतका क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएर व्यवस्थापन गर्ने प्रयास गरे पनि स्थायी समाधान दिन नसकेको भन्दै आलोचना हुँदै आएको छ।
अस्थायी व्यवस्थापनका क्रममा राखिएका नागरिकले समेत विभिन्न समस्या भोग्नुपरेपछि सरकारको कदमप्रति प्रश्न उठिरहेको छ। कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका परिवारलाई सुरक्षित स्थानका रूपमा खरिपाटी र भक्तपुरको बोडे क्षेत्रमा सारिएको थियो।







