प्रहरी नियन्त्रणमा घाइते अन्सारीको स्वास्थ्य सुधारोन्मुख

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रहरी नियन्त्रणमा घाइते अन्सारीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौ । शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा प्रहरीले नियन्त्रणमा लिने क्रममा धक्कामुक्की हुँदा घाइते भएका मजित अन्सारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

बाढी प्रभावित सुकुम्बासीको अवस्था बुझ्न कीर्तिपुर पुगेका अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणका क्रममा भएको धरपकडमा उनको टाउको, अनुहार तथा शरीरको माथिल्लो भागमा चोट लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको हो।

अस्पतालका अनुसार अन्सारीको टाउको, अनुहार, हात, खुट्टा, घुँडा र गोलीगाँठामा चोट लागेको छ। हाल उनको वार्डमै उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अन्सारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी दिए।

उनले भने, “टाउको, अनुहार, हात, खुट्टा, घुँडा र आँखामा चोट लागेको छ। टाउकोको सीटी स्क्यान गर्दा भित्री चोट देखिएको छैन। गम्भीर चोट देखिएको छैन, तर दुखाइ भएकाले वार्डमा राखेर उपचार भइरहेको छ।”

अन्सारीको उपचार डा. अमृत प्रधानाङ्ग नेतृत्वको टोलीले गरिरहेको छ। प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई कीर्तिपुर प्रहरी वृत्त लगिएको थियो। त्यसक्रममा आँखामा चोट देखिएपछि उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको बताइएको छ।

अन्सारीलाई भेट्न प्रगतिशील लोकतान्त्रिक पार्टीकी नेतृ मानुषी यमी भट्टराई अस्पताल पुगेकी थिइन्। उनले अन्सारीको अनुहार, मुख र टाउकोमा चोट देखिएको बताइन्। उनका अनुसार, “प्रहरीले तान्दा कपाल झरेका छन्। टाउको दुखेको र बोल्नसमेत गाह्रो भइरहेको बताएका छन्।”

भट्टराईले प्रहरीको नियन्त्रणमा रहेकै बेला अन्सारीमाथि कुटपिट भएको दाबी पनि गरेकी छन्। उनका अनुसार प्रहरीको व्यवहार मानवीय नभएको र कीर्तिपुर प्रहरी वृत्त पुर्‍याएपछि साथीहरूले नै उपचारका लागि शिक्षण अस्पताल ल्याएका थिए।