सरकारले प्रधानमन्त्री कार्यसम्पादन एकाइ (पीएम डेलिभरी युनिट) स्थापना गर्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रधानमन्त्री कार्यसम्पादन एकाइ (पीएम डेलिभरी युनिट) स्थापना गर्ने भएको छ।
असार १८ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतामा समेटिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा अन्तरनिकाय समन्वयको जिम्मेवारी यही एकाइलाई दिने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएकै दिन, चैत १३ गते, शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरिएको थियो। त्यसका साथै गत फागुन २१ गते सम्पन्न निर्वाचनमा सहभागी राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतालाई समेत समेटेर १८ बुँदे राष्ट्रिय प्रतिबद्धता तयार गरिएको हो।
प्रतिबद्धतामा उल्लेख भएका केही कार्यक्रम आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा समावेश भइसकेका छन्। नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयलाई भविष्यका सुधारका एजेन्डासँग जोड्दै कार्यान्वयन गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रतिबद्धताअन्तर्गतका कार्यक्रम सम्बन्धित मन्त्रालय र निकायले आफ्ना वार्षिक योजना तथा बजेटमार्फत कार्यान्वयन गर्नेछन्। ती कार्यक्रमको समग्र प्रगति मूल्याङ्कन, अनुगमन र अन्तरनिकाय समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा पीएम डेलिभरी युनिट स्थापना गर्न लागिएको हो।
नेपालमा यस्तो संयन्त्र स्थापना गर्ने अवधारणा नयाँ भने होइन। बेलायतमा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालमा सन् २००१ मा प्राइम मिनिस्टर्स डेलिभरी युनिट (PMDU) स्थापना गरिएको थियो। मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको उक्त संयन्त्रले स्वास्थ्य, शिक्षा, अपराध नियन्त्रण र यातायातजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा तय गरिएका लक्ष्यको प्रगति अनुगमन गर्दै प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिवेदन दिने काम गर्थ्यो। पछि विभिन्न सरकारले यसलाई पुनर्गठन गर्दै लगेका थिए।
यस्तै अभ्यास मलेसिया, रुवान्डालगायत देशमा पनि लागू गरिएको छ। रुवान्डामा प्रधानमन्त्री कार्यालयलाई सरकारी कार्यक्रमको समन्वय तथा नीति कार्यान्वयनको अनुगमनमा प्रमुख भूमिका दिइएको छ।







