टी–२० विश्वकप छनोट : आज नेपाल र कुवेत आमनेसामने, विश्वकप यात्रा तातियो

User Image Prime TV News एक महिना अगाडि
Image of टी–२० विश्वकप छनोट : आज नेपाल र कुवेत आमनेसामने, विश्वकप यात्रा तातियो

काठमाडौ । आइसिसी मेन्स टी२० विश्वकप एसिया तथा एसिया प्यासेफिक  छनोट अन्तर्गत नेपाल आज राति कुवेतविरुद्ध मैदानमा उत्रिँदै छ। ओमानमा हुँदै गरेको छनोट प्रतियोगिताको समूह चरणमा नेपालले पहिलो खेल राति ८:४५ बजे खेल्नेछ।

यस प्रतियोगिताबाट शीर्ष तीन टोलीले सन् २०२६ फेब्रुअरीमार्चमा भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गर्नेछन्। नेपाल समूह २ मा कुवेत र जापानसँग रहेको छ। नेपालले दोस्रो खेल शुक्रबार जापानविरुद्ध खेल्नेछ।

समूह चरणपछि शीर्ष दुई टोली सुपर६ चरणमा पुग्नेछन्। सुपर६ मा पुग्ने टोलीहरूले विश्वकपका लागि शीर्ष तीन स्थानमा पर्नुपर्नेछ।

समूह चरणको जित सुपर६ मा पनि गनिने भएकाले नेपालका लागि आजको खेल केवल सुरुवात होइन, निर्णायक मोड पनि हो। सुपर६ मा आफ्नै समूहका टोलीविरुद्ध फेरि खेलिँदैन, त्यसैले आजको जितले आगामी चरणमा थप बल प्रदान गर्नेछ।

नेपाल हाल उत्कृष्ट फर्ममा छ। युएईमा वेस्ट इन्डिजविरुद्धको टी२० सिरिज २१ ले जितेर ऐतिहासिक उपलब्धि हासिल गरेको टोली अब विश्वकपमा दोहोरिने लक्ष्यमा छ।

नेपाली टोलीको नेतृत्व रोहित कुमार पौडेलले गरिरहेका छन्। दीपेन्द्रसिंह ऐरी उपकप्तानका रूपमा छन्। टोलीमा कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।

एसिया छनोटमा समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा ओमान, पिएनजी र सामोआ छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर६ मा पुग्नेछन् र आपसमा भिड्नेछन्।

१७ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। नेपालले आज जित निकाल्न सके विश्वकप यात्रा सहज दिशातर्फ अघि बढ्नेछ।