चीनमा शक्तिशाली ‘बावी’ आँधी प्रवेश, २० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

User Image Prime TV News १ हप्ता अगाडि
Image of चीनमा शक्तिशाली ‘बावी’ आँधी प्रवेश, २० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौ । चीनमा शक्तिशाली आँधी ‘बावी’ प्रवेश गरेको छ।

एक साताभित्रै चीनमा आएको यो दोस्रो ठूलो आँधी हो। आँधीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित हुन सक्ने क्षेत्रमा रहेका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको मौसम विभागका अनुसार ‘बावी’ शनिबार साँझ पहिलोपटक ताइझोउ सहरको तटीय क्षेत्रमा स्थलभागमा प्रवेश गरेको थियो। त्यसपछि राति वेनझोउ क्षेत्रमा दोस्रोपटक स्थलभागमा पुगेको थियो।

आँधी करिब एक हजार किलोमिटर क्षेत्रसम्म फैलिएको छ, जुन झन्डै फ्रान्सको आकार बराबर मानिएको छ। चीन पुग्नुअघि ‘बावी’ले जापानका दुर्गम टापुहरू प्रभावित पारेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो।

यसअघि फिलिपिन्समा यही आँधीका कारण गएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो। यद्यपि, चीन प्रवेश गरेपछि ‘बावी’ क्रमशः कमजोर बन्दै गएको मौसम विभागले जनाएको छ। तर, यससँग सम्बन्धित अत्यधिक आद्रताका कारण भारी वर्षा र बाढीको जोखिम भने अझै कायम रहेको बताइएको छ।

मौसमविद्का अनुसार आँधी उत्तर–पश्चिमतर्फ अघि बढ्दै जाँदा यसको तीव्रता क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। अधिकारीहरूले आइतबार पूर्वी झेजियाङ प्रान्त र उत्तर–पूर्वी फुजियान प्रान्तमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तमा मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं मानिसलाई स्थानान्तरण गरिएको छ। आँधीका कारण झेजियाङमा विद्यालय, कार्यालय तथा बाहिरी गतिविधि स्थगित गरिएका छन्। साथै, करिब ४०० उडान र धेरै रेल सेवा रद्द गरिएका छन्।

चीनको राजधानी बेइजिङमा पनि सावधानीस्वरूप करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ। यसअघि यही साता आएको ‘मायसाक’ आँधीबाट दक्षिणी चीनका धेरै क्षेत्र अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्। ‘मायसाक’का कारण ठूलो जनधनको क्षति भएको थियो भने कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।