आत्मदाह प्रयास गरेका आश्विन राउतको आईसीयूमा उपचार हुँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भै रहेको छ।
आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विशेषज्ञ डाक्टर पियूष दाहालका अनुसार राउत अस्पताल पुग्दासम्म बोल्न नसक्ने अवस्थामा थिए। उनका अनुसार प्रारम्भिक शल्यचिकित्सा गरेपछि राउतलाई सघन उपचार कक्षमा राखेर उपचार गरिनेछ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार घटना भएको समयमा उनकी श्रीमती र छोरा घरमा थिएनन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।







