गणेश नेपालीलाई शहीद घोषणा गर्न अभियन्ता मिराज ढुङ्गानाको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ।
जेनजी अभियन्ता मिराज ढुङ्गानाले सामाजिक सञ्जालमार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्। ढुङ्गानाले गणेश नेपालीको घटना व्यक्तिगत आत्महत्या नभई राज्यको नीतिप्रति गरिएको प्रतिरोधको रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनका अनुसार शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य हो। उनले गणेश नेपालीको आत्मदाह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी व्यवस्थाप्रतिको असन्तुष्टिको चरम अभिव्यक्ति भएको दाबी गरेका छन्।
नागरिकको आर्थिक अवस्था र जनभावनालाई बेवास्ता गरेर नीति ल्याइएकाले यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।ढुङ्गानाले उक्त विधेयक पुनरावलोकन गरी अत्यधिक जरिवानाको व्यवस्था सच्याउन र गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्।
उनका अनुसार यस घटनाले राज्यलाई आफ्ना नीतिहरू पुनर्विचार गर्न दबाब सिर्जना गरेको छ। उनले गणेश नेपालीलाई शहीद घोषणा गरिए राज्य जनताको भावना र आवश्यकताप्रति संवेदनशील बन्नुपर्ने सन्देश जाने तथा भविष्यमा दण्ड र जरिवानासम्बन्धी नीति बनाउँदा नागरिकको आर्थिक अवस्थालाई पनि ध्यान दिने नजिर स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
यद्यपि ढुङ्गानाले आत्मदाह गर्ने सबै व्यक्तिलाई स्वतः शहीद घोषणा गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। राज्यको नीतिको विरोधस्वरूप अन्तिम विकल्पका रूपमा गरिएको आत्मदाहका घटनालाई भने सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्ने उनको धारणा छ।







