भावुक हुदै गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘गणेश नेपालीलाई बचाउन सरकारले सक्दो प्रयास गर्‍यो’

User Image Prime TV News १ हप्ता अगाडि
Image of भावुक हुदै गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘गणेश नेपालीलाई बचाउन सरकारले सक्दो प्रयास गर्‍यो’

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिँदै सरकारले उनलाई बचाउन सक्दो प्रयास गरेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारीसमेत गरिएको, तर चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण गर्न नमिल्ने सुझाव दिएको बताए।

“हामीले अथक प्रयास गरेकै हो। श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखेका थियौँ। अनुमति पनि लिइसकेका थियौँ। तर चिकित्सकले बिरामीको अवस्था स्थिर हुनुपर्ने बताउनुभयो। उहाँको रक्तचाप निकै कम थियो,” उनले भने।

गृहमन्त्री गुरुङले सरकारले आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्दै गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरे। “नेपाल सरकारको तर्फबाट हामी एक इन्च पनि दायित्व छाड्दैनौँ। हाम्रो अथक प्रयासका बाबजुद आज गणेश नेपाली भाइ हामीमाझ हुनुहुन्न,” उनले भने।

उनले घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै आफूले संसद् र जनतासँग असत्य नबोल्ने पनि बताए। यस क्रममा गृहमन्त्रीले काठमाडौं महानगरपालिकाको भूमिकातर्फ पनि संकेत गरे। उनले ह्विल लक लगाउने कार्य स्थानीय सरकारअन्तर्गत भएको उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारमाथि मात्रै थोपर्न नमिल्ने तर्क गरे।

“अहिले काठमाडौं महानगरपालिकामा स्थानीय सरकार कसको छ ? ह्विल लक लगाएको कसले ? त्यो दोष पनि हामीले मात्रै भोग्नुपर्ने ?” उनले प्रश्न गरे।

गृहमन्त्री गुरुङले नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको स्मरण गराउँदै सबै तहले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने व्यवस्था संविधानले गरेको बताए। साथै, हाल कार्यान्वयनमा रहेका कानुनहरू अघिल्ला सरकारले निर्माण गरेको कानुनी व्यवस्थाअनुसार नै लागू गरिएको पनि उनले उल्लेख गरे।