प्रधानमन्त्री कार्की र आयोगबीच निर्वाचन तयारीबारे निर्णायक छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री कार्की र आयोगबीच निर्वाचन तयारीबारे निर्णायक छलफल

काठमाडौ । आसन्न निर्वाचनका तयारीलाई तीव्रता दिन प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आज सिंहदरबारमा छलफल भएको छ।

आयोगले हिजो आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेपछि सरकार र राजनीतिक दलको भूमिकाबारे उच्चस्तरीय समन्वय भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा तथा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सहभागी थिए।

छलफलमा निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मितव्ययी रूपमा सम्पन्न गर्न सरकार र राजनीतिक दलको सहकार्य आवश्यक रहेको विषयमा जोड दिइयो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्रोतसाधनको व्यवस्थापन, परिचालन तथा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्न सरकारसँग सहयोग अपेक्षा गरिएको छ।

आयोग निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन प्रतिबद्ध छ,’ प्रवक्ता भट्टराईले भने, ‘आवश्यक स्रोतसाधन जुटाउने र दलहरूसँग तिहारअघि नै छलफल गर्ने तयारी भइरहेको छ।

यसअघि असोज ७ गते पनि आयोगका पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग प्रारम्भिक तयारीबारे छलफल गरेका थिए। गत भदौ २३ र २४ गतेजेनजीप्रदर्शनपछि प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन भई निर्वाचन घोषणा गरिएको हो।

आयोगले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरी नामावली संकलन कार्य तीव्र बनाएको छ। अघिल्ला निर्वाचनमा देखिएका कमजोरी दोहोरिन नदिन आयोगले यसपटक पूर्वतयारीलाई विशेष प्राथमिकता दिएको जनाएको छ।