गणेश नेपालीको न्याय माग्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपालीको न्याय माग्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौ । संयुक्त विद्यार्थी संगठनले मुगुका गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय तथा सुकुमबासीमाथि भएको भनिएको अन्यायपूर्ण विस्थापनको विरोध गर्दै शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएको भन्दै ह्विल लक लगाएपछि उत्पन्न घटनाक्रमले गणेश नेपालीलाई आत्मदाहको प्रयास गर्न बाध्य बनाएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

विद्यार्थीहरूले राज्य संयन्त्र गरिब, श्रमजीवी र सुकुमबासी वर्गप्रति संवेदनशील बन्नुपर्नेमा उल्टै दमनकारी र असंवेदनशील बनेको आरोप लगाए। उनीहरूले उचित विकल्पको व्यवस्था नगरी सुकुमबासीहरूलाई बसोबास स्थलबाट हटाउनु अन्यायपूर्ण भएको बताएका छन्।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले सरकारले नागरिकको सुरक्षा र जीवनको संरक्षण गर्नुपर्ने दायित्व पूरा गर्नुको सट्टा जरिवाना र करका नाममा नागरिकलाई थप दबाबमा पारेको आरोप लगाए। उनीहरूले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, अव्यावहारिक जरिवाना प्रणाली पुनरावलोकन गर्न तथा सुकुमबासीहरूको सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।