गणेश नेपालीको मृत्युमा निष्पक्ष छानबिन गर्न एमालेको माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले मुगुका गणेश नेपालीको जलनका कारण भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। एमालेले आधारभूत वर्गका नागरिकलाई संरक्षण दिनुपर्ने राज्य नै निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु विडम्बनापूर्ण र निन्दनीय भएको जनाएको छ।
महासचिव पोखरेलले पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्ना जनविरोधी गतिविधिका कारण जनतासामु कमजोर बन्दै गएको आरोप लगाएका छन्। एमालेको विज्ञप्तिमा गणेश नेपालीले आत्मदाहजस्तो कठोर कदम चाल्नु राज्य संयन्त्रबाट नागरिकले पाएको निराशा र पीडासँग जोडिएको विषय भएको उल्लेख गरिएको छ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। एमालेले सरकारले गरिब र सुकुमबासी नागरिकमाथि अमानवीय व्यवहार गरेको आरोप पनि लगाएको छ। सुकुमबासी बस्ती हटाउने नाममा वर्षायाममा नागरिकलाई घरबारविहीन बनाइएको तथा त्यसबाट धेरै नागरिक प्रभावित भएको एमालेको दाबी छ।
विज्ञप्तिमा राज्यको व्यवहार लोकतान्त्रिक शासन प्रणाली र लोककल्याणकारी राज्यको अवधारणाविपरीत भएको उल्लेख गर्दै नागरिकको ‘बाँच्न पाउने अधिकार’ र ‘सुरक्षित आवासको अधिकार’ को सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ। गरिब तथा निमुखा नागरिकमाथिको दमन तत्काल रोक्न र उनीहरूको उचित व्यवस्थापन तथा सुरक्षित विकल्पको व्यवस्था गर्न पनि एमालेले माग गरेको छ।








