गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाकी सांसद पार्वती विकले सरकारको चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण एक युवाले ज्यान गुमाउनुपरेको आरोप लगाइन्। उनले मोटरसाइकल पार्किङको विषयमा गणेश नेपालीले १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको र त्यसबाट उत्पन्न मानसिक तनावका कारण उनले आत्मदाहको बाटो रोजेको उल्लेख गरिन्।

सांसद विकले १० हजार रुपैयाँ जरिवानाले एक नागरिकलाई कस्तो मानसिक दबाब सिर्जना गर्‍यो भन्ने विषयमा राज्यले गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। उनका अनुसार कसुरको प्रकृति र गम्भीरता नहेरी जरिवाना निर्धारण गर्दा नागरिकमाथि अन्याय हुन सक्छ। उनले गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभई राज्यको उत्तरदायित्व र सामाजिक संवेदनामाथिको गम्भीर प्रश्न भएको बताइन्।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन उनले सरकारसँग माग गरिन्। यसैबीच, सांसद विकले राष्ट्रियतासम्बन्धी विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन्। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनले त्यसलाई गैरजिम्मेवारपूर्ण टिप्पणी भएको बताइन्।

उनले सुस्तामा भारतीय सुरक्षा बलको प्रवेश तथा दार्चुलाको आकाशमा भारतीय हेलिकोप्टरले अनुमति बिना उडान गरेको भनिएको विषयमा सरकारले कूटनीतिक माध्यमबाट के–कस्तो पहल गर्‍यो भन्नेबारे पनि प्रश्न उठाइन्।