गणेश नेपालीको मृत्यु आत्मचिन्तनको विषय हो : गगन थापा

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपालीको मृत्यु आत्मचिन्तनको विषय हो : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्र नभई समाज, राज्य र मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीको निधनलाई समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्त पीडादायी घटना भएको उल्लेख गरेका छन्। उनले यो घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र राज्यप्रतिको विश्वाससँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।

थापाले मृतकका आश्रित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको दुःखमा साथ दिन र सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनाबाट राज्य सञ्चालन, सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वबारे सामूहिक आत्मचिन्तन गर्नुपर्ने उनको भनाइ छ।

उनले एउटा युवा किन यति निराश बन्न पुग्छ, आफ्ना पीडा सुनाउन किन आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुन्छ र राज्यका सेवा तथा संयन्त्रले नागरिकलाई किन भरोसा दिलाउन सकेनन् भन्ने प्रश्न उठाएका छन्। भविष्यमा कुनै पनि नागरिकले यस्ता पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाले बताएका छन्।