गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, घटनाको छानबिन र कारबाहीको माग

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, घटनाको छानबिन र कारबाहीको माग

काठमाडौ । आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनालाई लिएर शुक्रबार माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युप्रति राज्य र सरकार जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।

उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो’, ‘राज्य आतंक मुर्दावाद’, ‘हत्यारा सरकार मुर्दावाद’ तथा ‘के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो।

घटनापछि सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा न्यायको माग गर्दै आवाज उठ्न थालेको छ भने प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।