मिटरब्याज पीडितको ‘न्याय मार्च’ ढल्केबर पुग्यो, काठमाडौंतर्फ यात्रा जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of मिटरब्याज पीडितको ‘न्याय मार्च’ ढल्केबर पुग्यो, काठमाडौंतर्फ यात्रा जारी

काठमाडौ । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्यायको माग गर्दै काठमाडौंतर्फ पैदल यात्रा थालेका मिटरब्याज पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको ‘न्याय मार्च’ सरकारलाई मिटरब्याज पीडितका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हो। आन्दोलनकारीहरू बिहीबार साँझ जनकपुरधामस्थित तिरहुतियागाछीबाट यात्रा सुरु गरी दोस्रो दिन बिहान ढल्केबर पुगेका हुन्।

हाल उनीहरू धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अघि बढिरहेका छन्। आन्दोलनकारीहरूको टोली करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्य रहेको जनाएको छ। पीडितहरूले सरकारले यसअघि आफूसँग चार पटक लिखित सहमति गरे पनि ती सहमतिहरू कार्यान्वयन नभएको आरोप लगाएका छन्।

राज्यले गरेका प्रतिबद्धता कागजमै सीमित भएकाले सरकारलाई पुनः दबाब दिन लामो पैदल यात्रा गर्नुपरेको उनीहरूको भनाइ छ। साहु–महाजनको ऋणको चक्रमा परेका किसान तथा मजदुरहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।