आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

User Image Prime TV News १ हप्ता अगाडि
Image of आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौ । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार सघन उपचारका क्रममा रहेका नेपालीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शुक्रबार निधन भएको हो। यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो।

अस्पतालका चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेकाले स्वास्थ्यबारे निश्चित रूपमा केही भन्न नसकिने बताएका थिए। अस्पतालका अनुसार नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उपचार निकै चुनौतीपूर्ण बनेको थियो। उनलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिँदै आएको थियो।

उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय चिकित्सक टोली परिचालन गरिएको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी थिए।

नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले स्थानान्तरण गर्न सम्भव भएको थिएन। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको उपचारकै क्रममा निधन भएको हो।