रास्वपाले स्पष्ट नीति बिना सत्तालाई ‘प्रयोगशाला’ बनायोः महासचिव पोखरेल

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपाले स्पष्ट नीति बिना सत्तालाई ‘प्रयोगशाला’ बनायोः महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट नीति, योजना र दृष्टिकोणबिना सत्ताको अभ्यास गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपासँग वैकल्पिक नीति र स्पष्ट मार्गचित्र हुने अपेक्षा जनताले गरेको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरे।

उनले रास्वपाले ‘भयको सिद्धान्त’का आधारमा सत्तालाई एउटा प्रयोगशालाका रूपमा प्रयोग गरिरहेको आरोप लगाउँदै लोकप्रियतामुखी शैलीले मात्रै मुलुक सञ्चालन गर्न नसकिने उल्लेख गरेका छन्। पोखरेलले शपथ ग्रहणसँगै सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले अघि बढेका प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैलीमा अहिले गम्भीर विरोधाभास देखिन थालेको दाबी गरे।

उनका अनुसार नयाँ सरकार गठन भएयता आर्थिक सुधारका कुनै ठोस संकेत देखिएका छैनन् भने बजारमा महँगी र कालोबजारी बढ्दै गएको तथा हत्या, हिंसा र अपराधका घटना पनि वृद्धि भएको अवस्था छ। सरकारप्रतिको ‘आश र त्रास’का कारण पीडितहरूले न्यायको आवाजसमेत खुलेर उठाउन नसकेको उनको भनाइ छ। यसले हिजोसम्म पीडितको पक्षमा खुलेर बोल्ने नागरिकसमेत अहिले मौन बन्न पुगेको उनले उल्लेख गरेका छन्।

पोखरेलले चुनावमार्फत लोकप्रिय जनादेश प्राप्त गरेका दलहरूले पपुलिजम (सस्तो लोकप्रियतावाद) र त्रासका भरमा केही समय सत्ता सञ्चालन गर्न सक्लान्, तर त्यसरी सुशासन र आर्थिक समृद्धि हासिल गर्न नसकिने जिकिर गरेका छन्।