फौजदारी कसुरमा संलग्न जोकोहीलाई अनुसन्धान र कारबाही गर्न आयोगको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौंसहित देशका विभिन्न स्थानमा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले संलग्न दोषीमाथि तत्काल अनुसन्धान र कारबाहीको लागि सम्बन्धित संयन्त्रहरूलाई स्पष्ट निर्देशन दिएको छ।
आयोगका सदस्य विज्ञान राज शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख अनुसार, घटनामा फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूले ढिला नगरी छानबिन र कारबाही प्रक्रिया अघि बढाउन भनेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउको माग गर्दै जेनजी अभियान्ताहरुले जिल्ला प्रहरी परिसर काठमाडौले जाहेरी दर्ता नगरी सिधै आयोग सिफारिस गरेको थियो । तर आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रले कारबाही गर्न सक्ने स्पष्ट पारेको छ ।
साथै आयोगले कानुनी प्रक्रिया अन्तर्गत सत्यतथ्य पत्ता लगाउँदै निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।”
यसअघि भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा काठमाडौंलगायतका ठाउँमा भौतिक र मानवीय क्षति भएको थियो। उक्त घटनाका सन्दर्भमा सत्य तथ्य संकलन गरी प्रतिवेदन तयार पार्न सरकारद्वारा गौरी बहादुर कार्कीको संयोजकत्वमा छानविन आयोग गठन गरिएको थियो ।













