विप्लव नेतृत्वको नेकपा औपचारिक रूपमा विभाजन, उमा भुजेलको नेतृत्वमा नयाँ समिति गठन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रूपमा विभाजन भएको छ।
पार्टीबाट हालै अलगिएकी नेतृ उमा भुजेल (शिलु)को संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन भएसँगै नयाँ समूहले आफ्नो संगठनात्मक गतिविधि अघि बढाएको हो। नयाँ समूहले आगामी भदौभित्र राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
संयोजक भुजेलले बिहीबार जारी गरेको विज्ञप्तिमा विभिन्न कम्युनिस्ट पार्टी, विशेषगरी माओवादी धारबीच रूपान्तरणसहितको एकता आवश्यक भएको उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार नयाँ समूहले राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्ष, साम्राज्यवादी हस्तक्षेपको विरोध, सरकारका राष्ट्रविरोधी तथा जनविरोधी गतिविधिविरुद्ध संघर्ष, विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, श्रमजीवी जनतालाई समाजवादी विचारमा संगठित गर्ने तथा समाजवादी परिवर्तनका लागि विभिन्न राजनीतिक मोर्चामा सक्रिय रहने उद्देश्य अघि सारेको छ।
समूहले पहिलो चरणमा विभिन्न ओवादी धारबीच रूपान्तरणसहितको एकता कायम गर्दै समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, देशभक्त, लोकतान्त्रिक तथा गणतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा निर्माण गर्दै विगतका परिवर्तनकारी आन्दोलनका शहीद, बेपत्ता तथा घाइते योद्धाहरूका आकांक्षा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
उमा भुजेल तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेलब्रेक घटनापछि चर्चामा आएकी नेतृ हुन्।









