एमाले रूपान्तरण अभियानको मत सर्वेक्षण सार्वजनिक, अधिकांश सहभागीले नेतृत्व र संगठनात्मक सुधारको पक्षमा मत दिए

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले रूपान्तरण अभियानको मत सर्वेक्षण सार्वजनिक, अधिकांश सहभागीले नेतृत्व र संगठनात्मक सुधारको पक्षमा मत दिए

काठमाडौ । नेकपा एमाले निकट युवाहरूले सञ्चालन गरेको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गतको मत सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ।

अभियानकर्ताका अनुसार असार १२ देखि २२ गतेसम्म सञ्चालन गरिएको सर्वेक्षणमा पार्टी रूपान्तरण, नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनःसंरचना र आन्तरिक लोकतन्त्रका विषयमा सहभागीहरूको धारणा संकलन गरिएको थियो।

खुला रूपमा गुगल फर्ममार्फत गरिएको सर्वेक्षणमा स्वदेश तथा विदेशका १४ देशमा रहेका एमालेका संगठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले सहभागिता जनाएका थिए। अभियानकर्ता गजेन्द्र थपलियाका अनुसार सर्वेक्षण प्रतिवेदन बिहीबार एमाले महासचिव तथा पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको छ।

सार्वजनिक नतिजाअनुसार ९१.४ प्रतिशत सहभागीले एमाले वर्तमान अवस्थाबाट रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरेका छन्। त्यस्तै, ९५.४ प्रतिशतले वर्तमान नेतृत्वको व्यवहार तथा आचरण सुधार गर्नुपर्ने र ९४.९ प्रतिशतले कार्यशैली परिवर्तन आवश्यक रहेको बताएका छन्।

पार्टीको विद्यमान नीति परिवर्तन गर्नुपर्ने पक्षमा ८७.५ प्रतिशत सहभागीले मत दिएका छन् भने ८७.६ प्रतिशतले नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। संगठनात्मक संरचना परिवर्तन गर्नुपर्नेमा ९१.४ प्रतिशत सहभागी सहमत देखिएका छन्।

त्यसैगरी, पार्टी नेतृत्व चयन प्रक्रियामा सबै संगठित सदस्यको प्रत्यक्ष मताधिकार हुनुपर्ने पक्षमा ८२.९ प्रतिशत र पार्टी वा संसदीय निर्वाचनमा एउटै पदमा बढीमा दुई कार्यकाल मात्र जिम्मेवारी लिन पाउने व्यवस्था आवश्यक रहेको पक्षमा ८२.८ प्रतिशत सहभागीले समर्थन जनाएका छन्।

एमालेको पुनःसंरचनाको निकास विशेष महाधिवेशनमार्फत निकाल्नुपर्ने पक्षमा ४७.७ प्रतिशत मत परेको छ। अर्ली महाधिवेशनको पक्षमा २५ प्रतिशत तथा केन्द्रीय कमिटीमार्फत समाधान खोज्नुपर्ने पक्षमा २४.४ प्रतिशत सहभागी देखिएका छन्।

नेतृत्व हस्तान्तरणबारे सोधिएको प्रश्नमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रबाट नयाँ नेतृत्व आउनुपर्ने बताएका छन्। २६.४ प्रतिशतले केन्द्रीय कमिटी बाहिरबाट नेतृत्व खोज्नुपर्ने मत व्यक्त गरेका छन् भने १६.७ प्रतिशतले पदाधिकारीभित्रबाट नेतृत्व हस्तान्तरण उपयुक्त हुने धारणा राखेका छन्।