प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै रौतहटमा प्रधानमन्त्रीको पुतला दहन
Prime TV News १ हप्ता अगाडि 
रौतहट । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै रौतहटका स्थानीयले विरोध प्रदर्शन गरेका छन्।
आन्दोलनरत पक्षले प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो। प्रदर्शनकारीहरूले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको र विकास निर्माणका काम प्रभावित बनेको भन्दै असन्तुष्टि जनाएका छन्।
उनीहरूले नगरपालिकालाई लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन राखिएको आरोप लगाउँदै तत्काल आवश्यक कर्मचारी खटाउन माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले “बिजुली–पानीको भुक्तानी गर”, “सम्मानित अदालतको आदेश पालना गर”, “मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर”, “मौलापुरमा हाकिम पठाऊँ” तथा “मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन” लगायतका नारा लगाएका थिए।
स्थानीयका अनुसार विकास निर्माणका कामले गति लिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नियमित प्रशासनिक तथा वित्तीय कार्य प्रभावित भएको छ। उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि खटाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे फिर्ता बोलाइएपछि हालसम्म नयाँ अधिकृत नपठाइएकाले नगरपालिकाको बजेट तथा विकासका कार्यक्रम प्रभावित बनेको दाबी गरेका छन्।







