नेप्से लगातार दोस्रो दिन घट्यो, सबै समूहमा गिरावट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ।
यस दिन नेप्से १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन पनि बजार ३० अंकले घटेको थियो। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कारोबार भएका कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबार कुल ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटक किनबेच भएको नेप्सेले जनाएको छ। यस दिन उपकार लघुवित्त, स्नो रिभर्स लिमिटेड, प्राइम डिबेन्चर, कुमारी सबल योजना र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल हासिल गरेका छन्।
समूहगत परिसूचकतर्फ भने सबै १३ वटै उपसमूह ओरालो लागेका छन्। तीमध्ये व्यापार समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ, जसले समग्र बजारमा बिक्री दबाब कायम रहेको संकेत गरेको छ।







