विरोधको शैली फेर्न सभामुख अर्यालको विपक्षी दललाई आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of विरोधको शैली फेर्न सभामुख अर्यालको विपक्षी दललाई आग्रह

काठमाडौ । सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर जारी विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विषयमा विपक्षी दलहरूले करिब ४० दिनदेखि प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै आएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले लामो समयदेखि एउटै विषयमा ध्यानाकर्षण गराउँदै आएको भन्दै सदनको मर्यादा र समय व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका हुन्।

‘हामी लामो समयदेखि एउटै मुद्दामा विपक्षी बेन्चतर्फका माननीय सदस्यहरूले ध्यानाकर्षण गराइराख्नुभएको छ। सबै जनाको कुरा सुन्दा विषयवस्तु एउटै नै हुन्छ। त्यसकारण सभालाई मर्यादित र समयको ख्याल गर्न विपक्षी बेन्चको तर्फबाट एक जना माननीय सदस्यले बोलेर आजको बैठक अगाडि बढाउन सहयोग गर्न अनुरोध गर्छु,’ सभामुखले भने।

उनले विरोध सुरु गरिएको विषयमै केन्द्रित भएर धारणा राख्न पनि विपक्षी सांसदहरूलाई आग्रह गरे। सभामुखले एक जना सांसदले मात्र बोलेर दैनिक कार्यसूचीमा प्रवेश गर्न आग्रह गरे पनि विपक्षी दलहरूले तत्काल स्वीकार गरेनन् ।