सुकुम्वासी समस्याप्रति आफू गम्भीर रहेको रवि लामिछानेको भनाइ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्वासी समस्याका विषयमा आफू गम्भीर रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीको अवस्थाबारे सोधेको प्रश्नमा लामिछानेले आफूले विषय बुझिरहेको र समस्या समाधानप्रति गम्भीर रहेको प्रतिक्रिया दिएका हुन्।
सिंहदरबारस्थित संसद् भवनबाहिर सञ्चारकर्मीले ‘सुकुम्वासीको अवस्था निकै कठिन भएको र खानबस्नसमेत समस्या भएको’ भन्दै प्रश्न गरेका थिए। जवाफमा लामिछानेले छोटो प्रतिक्रिया दिँदै भने, ‘यो विषयमा म एकदमै गम्भीर छु। धेरै नै गम्भीर छु। मैले बुझेको छु।’
काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्वासीलाई सरकारले केही समय होल्डिङ सेन्टरमा राखेको थियो। पछिल्लो समय त्यहाँबाट समेत हटाउने तयारी भएपछि उनीहरूको अवस्था थप कठिन बनेको भन्दै विभिन्न पक्षबाट आवाज उठिरहेको छ।
सुकुम्वासी व्यवस्थापन, आवास र पुनर्स्थापनाको विषयमा सरकारको स्पष्ट योजना आवश्यक रहेको भन्दै सरोकारवालाहरूले ध्यानाकर्षण गराउँदै आएका छन्।







