अख्तियारमा कार्यरत १८ प्रहरीको सरुवा नियमित प्रक्रिया भएको प्रहरी हेडक्वाटरको स्पष्टोक्ति

User Image Prime TV News १ हप्ता अगाडि
Image of अख्तियारमा कार्यरत १८ प्रहरीको सरुवा नियमित प्रक्रिया भएको प्रहरी हेडक्वाटरको स्पष्टोक्ति

काठमाडौ । नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत भएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले बिहीबार विज्ञप्ति जारी गर्दै अख्तियारको टंगालस्थित कार्यालयमा कार्यरत डीआईजीसहित १८ जना प्रहरी कर्मचारीको सरुवा नियमित प्रशासनिक काम भएको स्पष्ट पारेका हुन्।

केही दिनअघि अख्तियारमा कार्यरत प्रहरी कर्मचारीहरूको सरुवा भएपछि केही सञ्चारमाध्यममा राहदानी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको तथा केही आरोपीलाई भगाएको आरोपमा कारबाहीस्वरूप सरुवा गरिएको समाचार प्रकाशित भएका थिए।

प्रहरी प्रधान कार्यालयले ती समाचार र टिप्पणीहरू तथ्यहीन तथा भ्रमपूर्ण रहेको जनाएको छ। सरुवालाई कुनै विशेष घटनासँग जोडेर गरिएको प्रचारमा विश्वास नगर्न पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले संगठनभित्रको नियमित सरुवा प्रणालीअन्तर्गत कर्मचारीको व्यवस्थापन हुँदै आएको र यसलाई अन्य विषयसँग जोडेर गलत अर्थ लगाउन नहुने जनाएको छ।