प्रधानमन्त्रीको अभिव्यक्तिमा जवाफ माग्दै विपक्षी, सभामुखको अर्यालको भूमिकामाथि नेकपाको प्रश्न
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाउँदै आएको विरोधको शैलीबारे सभामुख डीपी अर्यालको भूमिकामाथि नेकपाले प्रश्न उठाएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिमा स्पष्ट जवाफ माग गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्ति तथ्यमा आधारित भए प्रमाण सार्वजनिक गर्नुपर्ने र नभए प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै आएका छन्।
सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्ने क्रममा अपनाएको विरोधको शैली परिवर्तन गर्न सभामुखले आग्रह गरेपछि नेकपाका सांसद प्रमेशकुमार हमालले त्यसप्रति आपत्ति जनाएका हुन्। ‘आज सभामुख महोदयले आन्दोलनको रूप फेर्नका निम्ति भन्नुभयो। उहाँले किन प्रधानमन्त्रीज्यू यहीँ आएर स्पष्ट पार्नुस् भन्न सक्नुभएन ?’ सांसद हमालले प्रश्न गरे।
उनले प्रधानमन्त्रीबाट जवाफ नआएसम्म राष्ट्रियताको विषयमा आफ्नो पार्टीको अडान कायम रहने र विरोध जारी रहने बताए। गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूले संसदमा उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी सरकारको भएको भन्दै सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार संसदमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले निर्धारित समयभित्र दिनुपर्ने व्यवस्था रहेको भन्दै विपक्षी दलहरूले प्रधानमन्त्री पनि संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन्। त्यस्तै, प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाइएको छ।
विपक्षी दलहरूले संसदलाई प्रभावकारी बनाउन र सरकारलाई जवाफदेही बनाउन सभामुखले सक्रिय भूमिका खेल्नुपर्ने माग गर्दै आएका छन्।







