संविधान संशोधन बहसपत्र कार्यदलबाट एमाले पनि बाहिरियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of संविधान संशोधन बहसपत्र कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौ । संविधान संशोधन बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलबाट नेकपा एमाले पनि बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले बिहीबार कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन्।

एमालेका तर्फबाट कार्यदलमा भीष्म अधिकारी सहभागी थिए। सुरुका दिनमा उनी नियमित सहभागी भए पनि पछिल्लो समय अनुपस्थित रहँदै आएको महासचिव पोखरेलले पत्रमार्फत उल्लेख गरेका छन्।

एमालेले संविधान संशोधनका विषयमा सरकारको स्पष्ट धारणा नआएको भन्दै कार्यदलबाट बाहिरिने निर्णय गरेको जनाएको छ। पत्रमा वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउने र विगतका कमजोरी सुधार गर्ने उद्देश्यसहित संशोधनप्रति एमाले सकारात्मक रहेको उल्लेख गरिएको छ।

तर कार्यदलको उद्देश्य र कामकारबाहीप्रति प्रश्न उठाउँदै एमालेले संविधानका आधारभूत संरचना, संघीय लोकतान्त्रिक गणतन्त्र र संशोधनका विषयमा सरकारको दृष्टिकोण स्पष्ट नभएको आरोप लगाएको छ।

यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू पनि कार्यदलबाट बाहिरिसकेका छन्। ती दलका प्रतिनिधिहरूले संविधान संशोधनमा अघि बढ्नुअघि बहसपत्र प्रक्रिया नै खारेज गर्नुपर्ने धारणा राखेका थिए।

उनीहरूले संविधानको प्रस्तावना, आधारभूत मूल्य–मान्यता र संरचनालाई नचलाउने प्रतिबद्धता स्पष्ट हुनुपर्ने तथा संशोधनका विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय छलफल गर्न सरकारलाई आग्रह गरेका थिए।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठन भएको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार कार्यदलले दोस्रो पटक थपिएको समयसीमाभित्रै प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी गरेको छ। कार्यदलमा केही राजनीतिक दलका प्रतिनिधि बाहिरिए पनि प्रतिवेदन तयारीको काम जारी रहेको सचिवालयले जनाएको छ।