संघीय संसदका चार समितिको बैठक आज, निर्वाचन आयुक्तको सुनुवाइदेखि मानवअधिकारसम्मका विषयमा छलफल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ।
आज संसदीय सुनुवाइ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति तथा महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।
संसदीय सुनुवाइ समितिको बैठक बिहान साढे नौ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूमाथि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेको नाम सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि उक्त पद रिक्त रहेको छ। हाल रामप्रसाद भण्डारीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन्।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान आठ बजे बस्नेछ। बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित अनुसन्धान केन्द्र तथा कार्यक्रमहरूको संसदीय अनुगमन प्रतिवेदनमाथि समीक्षा गरिनेछ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे आठ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। साथै विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानवअधिकार अवस्थाको अध्ययन गरिरहेको उपसमितिको समयावधि थप गर्ने विषयमा पनि निर्णय गरिनेछ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान नौ बजे बस्नेछ। बैठकमा समितिको कार्यविधिसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।







