संसदमा फेरि प्ले कार्ड देखाए हर्क साम्पाङले
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा फेरि प्ले कार्ड प्रदर्शन गरेका छन्।
यसअघि पनि विभिन्न माग र विषयमा उनले संसदमा प्ले कार्ड देखाउँदै आएका थिए। बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सोही क्रममा सांसद साम्पाङले हातमा प्ले कार्ड लिएर आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद्मा विरोध गर्दै आएका छन्। गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विषयमा दुवै देशतर्फबाट जमिन मिचिएको हुन सक्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइपछि विपक्षी दलहरूले या त त्यससम्बन्धी तथ्य सार्वजनिक गर्नुपर्ने वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै आएका छन्। यस विषयमा मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत छलफल भएको थियो।
बैठकमा विपक्षी दलका प्रतिनिधिहरूले विवाद कहिलेसम्म लम्बिने हो भन्दै सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने बताएका थिए। बुधबारको बैठकमा पनि विपक्षी सांसदहरूले यही विषय उठाउँदै बैठक सुरु हुनासाथ विरोध जनाएका थिए।







