अमेरिकाद्वारा इरानमा ८० भन्दा बढी लक्ष्यमा हवाई हमला, तनाव फेरि चुलियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of अमेरिकाद्वारा इरानमा ८० भन्दा बढी लक्ष्यमा हवाई हमला, तनाव फेरि चुलियो

काठमाडौ । हर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य लक्ष्यमा भीषण हवाई हमला गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाजमाथि भएका आक्रमण रोक्न तथा समुद्री सुरक्षालाई कायम राख्न यो सैन्य कारबाही गरिएको हो। सेन्टकमले आक्रमणमा ८० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको दाबी गरेको छ।

प्रारम्भिक जानकारीअनुसार घटनामा धेरै व्यक्ति घाइते भएका छन्। तर, हालसम्म कुनै मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। यता, इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले अमेरिकी आक्रमणको कडा विरोध गर्दै यसलाई दुई देशबीच भएको शान्ति सम्झौताको उल्लंघन भएको बताएका छन्। उनले इरानले आवश्यक परे निर्णायक जवाफ दिने चेतावनीसमेत दिएका छन्।

इरानका सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केसम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा केन्द्रित थियो। यसअघि अमेरिकाले हर्मुज जलडमरूमध्यमा सञ्चालन हुने तेल ट्यांकर तथा व्यावसायिक जहाजमाथि आक्रमण भए त्यसको जिम्मेवारी इरानले वहन गर्नुपर्ने चेतावनी दिएको थियो।

मंगलबार राति जारी विज्ञप्तिमा सेन्टकमले पछिल्लो हवाई हमला इरानबाट भएको आक्रमणको प्रतिकारस्वरूप गरिएको स्पष्ट पारेको छ। यस घटनासँगै मध्यपूर्वमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। हर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल आपूर्ति मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।