सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा सीमित हुने: विश्व बैंक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक गरिएको अद्यावधिक आर्थिक पूर्वानुमानअनुसार, यस वर्षको प्रक्षेपण अघिल्लो अनुमानभन्दा ०.८ प्रतिशत बिन्दुले कम भएको हो।
यसअघि विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने आँकलन गरेको थियो। तर पछिल्लो समय देखिएको कमजोर लगानी प्रवाह, राजस्व संकलनमा चुनौती र राजनीतिक अनिश्चितताको कारणले दीर्घकालीन विकास लक्ष्यमा असर पर्ने देखिएको छ।
विश्व बैंकको प्रक्षेपण अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने अपेक्षा गरिएको छ। यस्तै, सन् २०२७ मा भने अर्थतन्त्र पुनः सुधार भएर वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा नेपालको अवस्था कमजोर देखिएको छ। सन् २०२६ मा भारतको वृद्धिदर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ।
नेपालमा पछिल्लो समय देखिएको ‘जेनजी आन्दोलन’पछि उद्योग र व्यवसाय क्षेत्रमा ठूलो क्षति पुगेको छ, जसका कारण आर्थिक गतिविधिमा मन्दी आएको छ। यसैले सन् २०२६ मा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको हो।













