बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र ५२ करोड रुपैयाँ क्षतिपूर्ति
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । पशु सेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लाका किसानलाई रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा सामग्रीको क्षतिपूर्तिस्वरूप करिब ५२ करोड रुपैयाँ एक साताभित्र उपलब्ध गराउने तयारी गरेको छ।
विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको मूल्याङ्कनका आधारमा सम्बन्धित किसानलाई प्रमाणित क्षतिको ७५ प्रतिशत रकम राहतस्वरूप उपलब्ध गराउने जनाएको छ।
विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको क्षति प्रमाणित भई दाबी पेश गरेका किसानको बैंक खातामा एक साताभित्र रकम जम्मा गरिनेछ।
उनले असार मसान्तसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा पनि रकम उपलब्ध गराइने जानकारी दिए। बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्याङ्कनपछि राहत वितरण गरिने विभागले जनाएको छ।
साथै, पन्छी तथा पन्छीजन्य वस्तु नष्ट भएको सबै प्रमाणसहित सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन विभागले किसानलाई आग्रह गरेको छ।
बर्डफ्लुका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लाहरू बढी प्रभावित भएका छन्।
विभागका अनुसार हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।







