देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

User Image Prime TV News २ हप्ता अगाडि
Image of देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा सरदर स्थानको आसपास अवस्थित छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका साथै सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थान तथा मधेस प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका क्षेत्र र सडकमार्ग प्रयोग गर्नेहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।