बाढीपहिरो पीडितका लागि अस्थायी आवास र राहतको व्यवस्था गर्ने सरकारको निर्णय

User Image Prime TV News एक महिना अगाडि
Image of बाढीपहिरो पीडितका लागि अस्थायी आवास र राहतको व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौ । हालै देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण घर गुमाएका नागरिकका लागि सरकारले तत्काल राहत र अस्थायी बसोबासको व्यवस्था गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताले बाढीपहिरो पीडितको राहत, पुनःस्थापना र महामारी रोकथामका विषयमा प्रमुख निर्णयहरू सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले बाढीपहिरोका कारण घर भत्किएकाहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँसम्मको राहत उपलब्ध गराउने भएको छ। पीडितले तत्काल २५ हजार रुपैयाँ पाउनेछन् भने बाँकी २५ हजार रुपैयाँ भने एक लेभलको संरचना बनेपछि मापदण्डअनुसार उपलब्ध गराइने बताइएको छ ।

बैठकले दीर्घकालीन रूपमा प्रभावित परिवारहरूलाई स्थायी आवासको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। यसका लागि आवश्यक बजेट व्यवस्थापन र पुनःस्थापनाको प्रक्रिया चाँडै अघि बढाइने जनाइएको छ।

विपद्‌पछिको अवस्थामा महामारी फैलिने सम्भावना उच्च हुने भन्दै सरकार त्यसको रोकथाममा पनि सक्रिय हुने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर सञ्चालन, र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने निर्णय गरिएको छ।

सरकारले तीनै तहका सरकारलाई चनाखो भई महामारी रोक्न आवश्यक सबै उपायहरू तत्काल लागू गर्न निर्देशन दिएको छ।