कांग्रेस इतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस इतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने

काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले कार्यक्रम काठमाडौंमा हुने भए पनि स्थान र विस्तृत कार्यतालिका भने टुंगिन बाँकी रहेको जानकारी दिए।

उनका अनुसार मंगलबार बस्ने बैठकले १५औँ महाधिवेशनको कार्यतालिका, सम्पर्क कार्यालयका आगामी गतिविधि तथा अन्य राजनीतिक विषयमा थप निर्णय गर्नेछ। विश्वकर्माले सम्पर्क कार्यालयको स्थापना पार्टीभित्र एकता कायम गर्ने उद्देश्यले गरिएको उल्लेख गर्दै पहिलो प्राथमिकता एकतालाई दिइएको बताए।

उनले एकताको प्रयास अपेक्षाअनुसार सफल हुन नसके वैकल्पिक विकल्पबारे पनि छलफल भइरहेको जानकारी दिए। ‘नेपाली कांग्रेसको एकताका लागि सम्पर्क कार्यालय स्थापना भएको हो। हाम्रो पहिलो प्रयास पार्टी एकता हो। यदि त्यो सम्भव भएन भने वैकल्पिक बाटोबारे पनि छलफल भइरहेको छ। यसबारे अन्तिम निष्कर्ष भोलिको बैठकले निकाल्नेछ,’ उनले भने।

उनले विशेष महाधिवेशन प्रक्रियामा सहभागी नभएका धेरै नेता–कार्यकर्ता पार्टी संरचनाबाहिर रहेकाले उनीहरूलाई समेत समेटेर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने धारणा राखे। विश्वकर्माले निर्वाचन आयोग र अदालतबाट वैधानिकता प्राप्त वर्तमान कार्यसमितिलाई आफूहरूले स्वीकार गरेको उल्लेख गर्दै छुटेका नेता–कार्यकर्तालाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार १५औँ महाधिवेशनलाई एकताको आधार बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो। पार्टीभित्र एकताको वातावरण कमजोर हुँदै विभाजनतर्फ जाने संकेत देखिएकाले त्यसलाई रोक्न पहल भइरहेको उनले बताए।