कांग्रेस इतर समूहको बैठकमा खड्काद्वारा संस्थापन पक्षसँगको संवादबारे ब्रिफिङ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा नेता पूर्णबहादुर खड्काले संस्थापन पक्षसँग भएको पछिल्लो संवाद र सहमतिका प्रयासबारे विस्तृत जानकारी गराएका छन्।
सोमबार चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा सुरु भएको बैठकमा खड्काले सातबुँदे प्रस्ताव, केन्द्रीय कार्यसमितिमा समायोजन तथा पछिल्ला छलफलका विषयमा नेताहरूलाई ब्रिफिङ गरेका हुन्।
उनले हाल इतर समूहमा डा. शेखर कोइरालासहित १११ जना रहेको उल्लेख गर्दै सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव संस्थापन पक्षसमक्ष राखिएको जानकारी दिए। खड्काका अनुसार सातबुँदे प्रस्तावबारे आफ्नो लिखित धारणा उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई ह्वाट्सएपमार्फत पठाइसकेका छन्।
बैठकमा उनले उपसभापति शर्माले उक्त प्रस्ताव सभापति गगन थापासमक्ष राख्ने र त्यसबारे इतर समूहका नेताहरूलाई पनि जानकारी गराउन आग्रह गरेको बताएका थिए। साथै, सभापति थापासँग प्रत्यक्ष छलफल गर्न सुझाव दिएको पनि उनले जानकारी गराए।
खड्काले उपसभापति शर्माले आफू र डा. शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव भने स्वीकार नगरेको जानकारी बैठकमा गराएका थिए। बैठकमा संस्थापन पक्षसँगको संवादलाई कसरी अघि बढाउने र पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।







