सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
सोमबार जारी प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका गम्भीर विषयप्रति सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक जानकारी उपलब्ध गराउन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले सांसदहरूले उठाएका विषयमा स्पष्ट जवाफ दिनुका साथै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकारले गरेका तयारी र कार्यप्रगतिबारे पनि संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिए।
‘माननीय सदस्यहरूद्वारा उठाइएका गम्भीर तथा महत्त्वपूर्ण विषयका सम्बन्धमा जवाफ दिन, साथै बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति नियन्त्रण तथा न्यूनीकरण गर्न गरिएका पूर्वतयारी र विपद् व्यवस्थापनसम्बन्धी कामकारबाहीबारे सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने।
सभामुखको रुलिङसँगै सरकारले संसदमा उठेका विषय र मनसुनजन्य विपद् व्यवस्थापनका तयारीबारे औपचारिक जवाफ दिने अपेक्षा गरिएको छ।







