प्रदेश खारेजी स्वीकार्य हुँदैन : सांसद आरेन राई
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा प्रदेश संरचना खारेज गर्ने वा लोकतान्त्रिक व्यवस्थामाथि हस्तक्षेप गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले संविधान संशोधनलाई अधिकार विस्तार र समावेशिताको दिशामा केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनले प्रदेश, सङ्घीयता, लोकतन्त्र तथा धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने कुनै पनि प्रयास नगर्न सरकारलाई चेतावनी दिए।
उनले संविधान संशोधन गर्नुपर्ने भए महिलाको संवैधानिक प्रतिनिधित्व हालको एकतिहाइबाट ५० प्रतिशत पुर्याउनुपर्ने, साथै आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य उत्पीडित समुदायका अधिकार थप सुनिश्चित गर्नुपर्ने धारणा राखे।
सांसद राईले विद्यार्थी, मजदुर र किसानका अधिकारलाई अझ बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने उल्लेख गर्दै २०७२ सालको संविधानले सीमित बनाएका अधिकारहरूको पुनरावलोकन आवश्यक रहेको बताए।
उनले संविधान संशोधनको नाममा लोकतान्त्रिक मूल्य–मान्यता र सङ्घीय व्यवस्थामाथि प्रहार गरिए सिंहदरबारमा बस्ने शासकविरुद्ध फेरि जनविद्रोह हुन सक्ने चेतावनी दिए। सांसद राईले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउनुपर्ने आफ्नो माग पुनः दोहोर्याए।







