जनताको काम नगर्ने मेयरदेखि मन्त्रीसम्मलाई कारबाही हुन्छ : मन्त्री सुनिल लम्साल
Prime TV News २ हप्ता अगाडि 
तनहुँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबन्ने जनप्रतिनिधि र पदाधिकारीमाथि कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासँगको भेटघाटमा बोल्दै मन्त्री लम्सालले जनताको काम नगर्ने स्थानीय तहका प्रमुखदेखि प्रदेश सरकारका मन्त्रीसम्मलाई कारबाही गर्न सरकार पछि नहट्ने बताए।
‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्, मेयरलाई नै कारबाही गर्छौँ। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशका मन्त्रीलाई पनि कानुनी दायरामा ल्याउँछौँ,’ उनले भने।
उनले सरकारले इमानदारीपूर्वक काम गर्नेलाई संरक्षण गर्ने र जनहितविपरीत काम गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। मन्त्री लम्सालले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै सबै जनप्रतिनिधिले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए। ‘काम गर्नुपर्छ, काम गराउनुपर्छ। विकास हुनैपर्छ। त्यसका लागि काम गर्ने सोच र व्यवहार आवश्यक छ,’ उनले भने।
उनले जनताले भोगिरहेका समस्या र गुनासा सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहप्रति सरकार प्रतिबद्ध रहेको बताए। सोही अवसरमा मन्त्री लम्सालले तनहुँ जिल्लाका लागि करिब ४ अर्ब रुपैयाँको बजेट सीमाभित्र सडक तथा पुलका प्राथमिकताका योजना तयार पार्न आग्रह गरे।
कार्यक्रममा रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास निर्माणका विभिन्न योजनाबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए।







