पाकिस्तानका प्रधानमन्त्रीद्वारा नेपालमा बाढी र पहिरो पीडितप्रति समवेदना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नेपालमा हालैका दिनमा आएको बाढी र पहिरोका कारण जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल मार्फत एक सन्देश जारी गर्दै भनेका छन्, “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म अत्यन्त दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”
उनले विपद्को यस कठिन घडीमा पाकिस्तान सरकार र जनता नेपाली सरकार र जनताको साथमा रहेको स्पष्ट पारे।
नेपालमा हालसालैको अबिरल वर्षासँगै विभिन्न भागहरूमा आएको बाढी र पहिरोका कारण कैयौँ मानिसको ज्यान गएको छ भने ठूलो संख्यामा घरबार र सम्पत्तिमा क्षति पुगेको छ। उद्दार तथा राहत कार्य जारी छ।













